राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि आगमन



टोकियो, माघ १९ — राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि सोमबार जापान आइपुग्नुभएको छ। उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापान विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा, र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गर्नुभएको थियो।

जापान सरकारको निमन्त्रणामा प्रथम महिला सेविता पौडेल सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन यहाँ आउनुभएको हो।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट तथा जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ। भ्रमण अवधिमा उहाँसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँग हुने कार्यक्रम र जापानस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध १ सेप्टेम्बर १९५६ मा स्थापित भएको थियो। सम्बन्ध स्थापना पश्चात् नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो। राष्ट्रपति पौडेल चार दिने भ्रमण सफलतापूर्वक सम्पन्न गरी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्