द्रुतमार्ग आयोजना : खोकना खण्डमा काम अघि बढ्न सकेन
निजगढ (बारा), माघ १९ — काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत नाघिसक्दा पनि प्रारम्भिक विन्दु खोकना क्षेत्रको ६.५ किमि खण्डमा जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन। उक्त खण्ड ‘प्याकेज नं. ११’ अन्तर्गत पर्दछ।
जग्गा प्राप्ति समस्या समाधानका लागि मन्त्रिपरिषद्ले २०८० वैशाखमा समिति गठन गरे पनि तीन वर्ष नजिकिँदासमेत ठोस प्रगति भएको छैन। नेपाली सेनाले ठेक्का प्रक्रिया नै अघि बढाउन नसकिएको जनाएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र भौतिक पूर्वाधार मन्त्रालयको अध्ययनले खोकनालाई नै उपयुक्त सुरु विन्दु माने पनि स्थानीयले सांस्कृतिक सम्पदा र बस्ती विस्थापनको चिन्ता जनाउँदै विरोध गर्दै आएका छन्। आयोजनाले भने एलाइन्मेन्ट परिवर्तन गरिएकाले सम्पदामा असर नपर्ने दाबी गरेको छ।
हालसम्म आवश्यक जग्गामध्ये करिब ५१% अधिग्रहण भइसकेको छ भने २११ रोपनी अझै बाँकी छ। समस्या समाधान भए ठेक्का प्रक्रिया तुरुन्तै अगाडि बढ्ने जनाइएको छ।

