सुनको मूल्यमा पहिरो: तीन दिनमै ताेलामा ५२ हजार ७०० रूपैयाँ घट्याे, कतिमा झर्यो ताेलाकाे ?
काठमाडौं,माघ १९। नेपाली बजारमा सुनको मूल्यमा लगातार तीन दिनदेखि भारी गिरावट आएको छ। पछिल्लो तीन दिनको अवधिमा मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ७०० रुपैयाँले घटेको हो।
गत शुक्रबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आइतबार पुनः १८ हजार ८०० रुपैयाँले ओरालो लागेको थियो। गिरावटको यो क्रम आज सोमबार पनि जारी रहँदा प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँमा झरेको छ। हिजो आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

