नुवाकोट–१ मा कांग्रेसको चुनावी तयारी तीव्र, ५०१ सदस्यीय परिचालन समिति गठन
नुवाकोट, माघ १९— नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ नुवाकोटले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन र चुनावी परिचालनलाई तीव्र बनाउने निर्णय गरेको छ।
क्षेत्रीय सभापति धुर्व श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा उम्मेदवार डा. प्रकाशशरण महतको उपस्थितिमा आइतबार सम्पन्न संयुक्त बैठकले पार्टीका सबै संयन्त्र सक्रिय पार्दै चुनावी अभियानमा एकताबद्ध रूपमा होमिने सन्देश दिएको हो।
बैठकमा जिल्ला सभापति रमेशकुमार महत, क्षेत्रीय र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, निर्वाचित जनप्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, पालिका तथा वडा कार्यसमितिका प्रतिनिधि, भ्रातृ संगठन र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले क्षेत्रीय सभापति श्रेष्ठको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको छ। नेताहरूका अनुसार यसले संगठनलाई एकताबद्ध र सक्रिय बनाउँदै चुनावी मैदानमा मजबुत उपस्थिति सुनिश्चित गर्ने आधार तयार गरेको छ।
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन माघ २२ गते सबै गाउँपालिकामा एकैसाथ पालिका–स्तरीय बैठक आयोजना गर्ने निर्णय गरिएको छ। ती बैठकमा क्षेत्रीय कार्यसमितिबाट प्रतिनिधि खटाइनेछ। त्यसपछि वडा र टोल तहसम्म संगठन विस्तार गर्दै चुनावी गतिविधि सञ्चालन गरिने जनाइएको छ।
साथै, निर्वाचन अवधिमा पार्टीका विभिन्न निकायले निर्वाह गर्नुपर्ने भूमिका, दायित्व र आचारसंहितासम्बन्धी परिपत्र सम्बन्धित निकायहरूलाई पठाइने निर्णय पनि बैठकले गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा सभापति श्रेष्ठले संगठनात्मक एकता, अनुशासन र जनआधारित अभियानमार्फत नुवाकोट–१ मा कांग्रेसको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

