सल्यानमा अटो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर



सल्यान,माघ १९ — सल्यानको शारदा नगरपालिका–२ खलङ्गास्थित सिँचाइ कार्यालय नजिक खलङ्गा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

श्रीनगरबाट खलङ्गातर्फ आउँदै गरेको रा. १ ह. २१९५ नम्बरको अटो आज दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अटोमा चालकसहित ११ जना सवार रहेका थिए।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि विक को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल छन्। चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी निरीक्षक पूर्णबहादुर केसी को कमान्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसी ले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्