राष्ट्रिय सभामा विभिन्न विषय उठे : स्वास्थ्य बिमादेखि सुरक्षासम्म सांसदहरूको ध्यानाकर्षण



काठमाडौं,माघ १९ — राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले स्वास्थ्य बिमा, शान्ति–सुरक्षा, निर्माण आयोजना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र महिला हिंसालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद रेणु चन्द ले स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधारसहित प्रभावकारी बनाउन माग गर्नुभयो। अस्पतालहरूमा भुक्तानी समस्या हुँदा बिमा सेवा बन्द हुने अवस्था आएको र बिरामीहरू मारमा परेको उल्लेख गर्दै उहाँले अस्पताललाई रकम भुक्तानी सुचारु गर्न आग्रह गर्नुभयो।

सांसद श्रीकृष्णप्रसाद अधिकारी ले पछिल्ला दिनमा काठमाडौँसहित विभिन्न स्थानमा चोरी, लुटपाट, हत्या र अनलाइन ठगीका घटना बढेको भन्दै सर्वसाधारण असुरक्षित बनेको बताउनुभयो। शून्य समयमा सांसद विष्णुकुमारी सापकोटा ले जेनजी आन्दोलनपछिको अन्योल र निर्वाचन आचारसंहिताका कारण विकास तथा ऊर्जा क्षेत्रका आयोजना प्रभावित बनेको बताउँदै रोकिएका र सञ्चालनमा रहने आयोजनाबारे स्पष्ट निर्णय गर्न माग गर्नुभयो।

सांसद किरणबाबु श्रेष्ठ ले नेपाल ‘एफएटिएफ’ को ग्रे लिष्टमा परेको एक वर्ष बितिसक्दा पनि सुधारका कदम पर्याप्त नभएको भन्दै प्रगतिबारे जानकारी माग गर्नुभयो।

सांसद पदमबहादुर परियार ले कार्यकाल नसकिँदै राजीनामा दिएर निर्वाचनमा होमिने जनप्रतिनिधिहरूले जनतासँग गरेका प्रतिबद्धता बिर्सिएको आरोप लगाउँदै निर्वाचन कानुन संशोधन गर्न माग गर्नुभयो।
सांसद रुक्मिणी कोइराला ले महिला हिंसा गम्भीर सामाजिक अपराध भएको बताउँदै पीडितका पक्षमा बनेका कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

सांसद विष्णुदेवी पुडासैनी ले अघिल्लो सरकारले छुट्याएका योजना र बजेट कार्यान्वयन नभएको उल्लेख गर्दै असारे विकासले जनतालाई सास्ती र बजेट नोक्सानी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्