निर्वाचन सुरक्षा : वडा तहसम्म एकीकृत संयन्त्र
काठमाडौँ, माघ २० — आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले केन्द्रदेखि वडा तहसम्म संयुक्त सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले “समन्वय सहकार्य अवधारणा–२०८२” लागू गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।
देशभरका ६,७४३ वडा तहमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र र प्रबुद्ध व्यक्तिहरू सम्मिलित संयन्त्र गठन गरिनेछ। यस संयन्त्रले मतदान स्थलसम्बन्धी सूचना सङ्कलन, समन्वय र सचेतना बढाउने काम गर्नेछ।
प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समिति ले संयन्त्रसँग निरन्तर समन्वय गर्दै शान्ति–सुरक्षा, जनशक्ति परिचालन, कानुन कार्यान्वयन, मतदान स्थलको सुरक्षा र आचारसंहिताको पालनामा जिम्मेवारी लिनेछन्। गतिविधिको अनुगमन गृह मन्त्रालय र सुरक्षा निकायको केन्द्रबाट हुनेछ।
सूचना आदान–प्रदानका लागि फोन, ग्रुप म्यासेज र भर्चुअल माध्यम प्रयोग गरिनेछ भने साप्ताहिक प्रतिवेदन केन्द्रमा पठाइनेछ। संयन्त्र मतपरिणाम घोषणा नहुँदासम्म सक्रिय रहनेछ।
भ्रामक सूचना रोक्न नेपाल प्रहरीको साइबर ब्युरो र निर्वाचन आयोगको साइबर सेल सक्रिय बनाइएको छ। साथै, प्रहरीका लागि नेपाली सेनाबाट हतियार सापटी लिने प्रक्रिया अघि बढेको र १,४९,०९० म्यादी प्रहरी तालिममा रहेको गृह मन्त्रालयले जनाएको छ।

