मकवानपुरमा पोथी चितुवा मृत फेला
मकवानपुर,माघ २०— मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा सोमबार राति एक पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। करिब ३९ केजी तौल र १.७० मिटर लम्बाइ रहेको उक्त चितुवा करिब २.५ देखि ३ वर्ष उमेरको हुन सक्ने अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक दिननाथप्रसाद यादवका अनुसार चितुवाको मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेकाले चितुवाहरू आपसमा जुध्दा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा चितुवालाई चित्लाङस्थित गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो।
चितुवा मृत फेला परेको स्थान इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

