झापा–५ मा बालेन शाह, सुकुम्बासी बस्तीमा पुगेर गुनासो सुने
झापा,माघ २० — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा गुनासो सुन्नुभएको छ।
उहाँले सुकुम्बासी समुदायसँग प्रत्यक्ष कुराकानी गर्दै काठमाडौंमा खोला आसपास बसोबास गर्ने सुकुम्बासीहरूलाई बाढीको जोखिमबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको स्पष्ट पार्नुभयो। काठमाडौंमा भइरहेको व्यवस्थापन प्रयास हटाउने उद्देश्यले नभई सुरक्षित स्थान व्यवस्थापनका लागि भएको उहाँको भनाइ थियो।
बालेन शाहले झापाका सुकुम्बासीहरूलाई पनि हटाउने कुनै योजना नरहेको बताउँदै लामो समयदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्याको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाले भूमि समस्या, बसोबासको अस्थिरता तथा आधारभूत सेवासुविधाको अभावबारे आफ्ना गुनासा राखेका थिए। कार्यक्रममा सहभागीहरूले सुकुम्बासीहरूको अधिकार र सुरक्षालाई प्राथमिकतामा राखी योजना ल्याउन आग्रह गरेका थिए।

