श्रीमतीको हत्या पछि श्रीमान् मृत अवस्थामा फेला
मोरङ,माघ २० — मोरङको रङ्गेली नगरपालिका–५ क्षेत्रमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी पत्नी अम्बिकाकुमारी मण्डलको ज्यान लिई आफू पनि मृत अवस्थामा फेला परेका हुन्।
प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले दिएको जानकारी अनुसार घटना मंगलबार बिहान करिब २ बजेतिर रङ्गेली–५ धनपट्टीस्थित माइती घरमा भएको हो। श्रीमान् राति नै ससुराली पुगेका थिए। दम्पतीबीच केही समयदेखि घरायसी विवाद रहेको र अम्बिका माइतीमा बस्दै आएकी थिइन्।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। दुबै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको थियो।

