भावी पुस्ताका लागि मार्गदर्शक बन्न युवाहरुलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं,माघ २०। प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई आज नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

उहाँले युवालाई विपद् र संकटको घडीमा अग्रपंक्तिमा उभिएर समाजको भरोसा बन्न समेत निर्देशन दिनुभयो ।

नेपाल सरकारले युवाहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिमलाई आगामी वर्षहरूमा अझ विस्तार गरिने जानकारी दिनुभयो ।

यस वर्ष देशभरका २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्