स्वास्थ्य उपचारपछि सार्वजनिक जीवनमा फर्किएको घोषणा गर्दै रवि लामिछानेको राजनीतिक सन्देश



काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य समस्याका कारण केही दिन अस्पताल बस्नुपरेको उल्लेख गर्दै अब पुनः सार्वजनिक जीवनमा सक्रिय रूपमा फर्किएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै उहाँले आफू “ऐलान, संकल्प र प्रतिबद्धता” का साथ राजनीतिमा सक्रिय हुन लागेको बताउनुभएको हो।

लामिछानेले देश परिवर्तनको इतिहास अब नेपाली जनताले आफ्नै मतबाट लेख्ने दाबी गर्दै आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा चित्रण गर्नुभएको छ। उहाँले सिंहदरबार पुग्ने होइन, “सिंहदरबार बदल्ने” लक्ष्यका साथ आफ्नो अभियान अगाडि बढ्ने उल्लेख गर्नुभएको छ।

उहाँले देशभर अदालत धाइरहेको प्रसंग उल्लेख गर्दै बढीभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको बताउनुभएको छ। परम्परागत दलहरूलाई लक्षित गर्दै उहाँले सानो–तिनो पूर्वाधार विकासका उपलब्धिभन्दा सुशासन र प्रणालीगत परिवर्तन आफ्नो प्राथमिकता भएको धारणा राख्नुभएको छ।

फेसबुक सन्देशमा लामिछानेले रास्वपाको नीति, विचार र दस्तावेज स्पष्ट रहेको जिकिर गर्दै आफूहरूलाई “भिजन नभएको” भन्ने आरोप अस्वीकार गर्नुभएको छ। उहाँले लोकतन्त्र जोगाउने जिम्मेवारी जनतासँगै रहेको बताउँदै मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र आर्थिक रूपान्तरणको नयाँ युग सुरु गर्ने दाबी गर्नुभएको छ।

आगामी फागुन २१ लाई विशेष राजनीतिक मिति बताउँदै उहाँले त्यसपछि बन्ने संसद् नयाँ ढंगको हुनुपर्ने धारणा राख्नुभएको छ। साथै, कुनै पनि प्रकारको दबाब वा षड्यन्त्रमार्फत पुरानो राजनीतिक अभ्यास फर्काउने प्रयास स्वीकार्य नहुने चेतावनीसमेत दिनुभएको छ।

लामिछानेले अन्त्यमा देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा रहेको उल्लेख गर्दै व्यापक जनसहभागिताको आह्वान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्