आजदेखि ८० हजार सेना फिल्डमा, निर्वाचन सुरक्षाका लागि एकीकृत योजना कार्यान्वयन



काठमाडौं,माघ २१ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अन्तर्गत आजदेखि नेपाली सेना सहित चारवटै सुरक्षा निकाय फिल्डमा परिचालित भएका छन्। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रूपमा खटिएका हुन्। निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि सुरक्षामा परिचालित हुनेछन्। सेनाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा जनशक्ति परिचालन सुरु गरेको र यस निर्वाचनका लागि करिब ८० हजार सैनिक खटाउने तयारी गरिएको जनाएको छ।

सुरक्षा व्यवस्थाअनुसार मतदानस्थलको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरी र निर्वाचन प्रहरीले लिनेछन् भने दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी रहनेछ, जसले सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ। नेपाली सेना बाहिरी सुरक्षा घेरामा तैनाथ रहनेछ। सेनाले मतपत्र छपाइदेखि ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ। आवश्यकताअनुसार विभिन्न स्थानमा ‘बेस’ खडा गरी संयुक्त गस्तीसमेत गरिने जनाइएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७७ हजार जनशक्ति परिचालन हुनेछन् भने एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएका छन्। सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी खटिनेछन्। मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरिएको छ, जसअनुसार २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशील मानिएका छन्। सुरक्षा निकायले उच्च सतर्कता अपनाएको र सशस्त्र प्रहरीले आपतकालीन अवस्थामा १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाएको जनाएको छ।

आगामी निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा प्रबन्धलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै कुनै पनि अप्रिय घटना हुन नदिन सबै सुरक्षा निकाय समन्वयमा खटिएको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्