“क्यान्सर जितेर समाजका लागि प्रेरणा: विजेताहरू जनचेतना अभियानमा अग्रसर”
काठमाडौँ,माघ २१— पहिले लुकाइने क्यान्सर रोगबारेको धारणा बदलिँदै गएको छ। उपचारपछि क्यान्सरमुक्त भएका व्यक्तिहरू अहिले क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानमा सक्रिय देखिएका छन्। समयमै परीक्षण, उपचार र सकारात्मक मनोबलले क्यान्सर जित्न सकिन्छ भन्ने सन्देश उनीहरूले समाजमा फैलाइरहेका छन्।
वरिष्ठ गायिका सङ्गीता शाक्य थापाले १४ वर्षअघि लिम्फोमा क्यान्सरको सामना गर्नुभएको थियो। उपचारपछि निको भए पनि पुनः रोग बल्झिएपछि भारतमा बोनम्यारो प्रत्यारोपण गराउनुपरेको अनुभव उहाँले सुनाउनुभयो। महँगो उपचारका कारण ठूलो आर्थिक भार परेको उल्लेख गर्दै उहाँले क्यान्सर उपचार नेपालमै सुलभ हुनुपर्नेमा जोड दिनुभयो। हाल स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित फलोअप गराइरहनुभएको शाक्य क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रममा सक्रिय हुनुहुन्छ। उहाँका अनुसार “मनोबल नै क्यान्सर उपचारको सबैभन्दा ठूलो औषधि हो।”
काठमाडौँकी सुजता तुलाधर कंसाकार पनि स्तन क्यान्सर जितेपछि जनचेतना अभियानमा लाग्नुभएको छ। नेपालमै उपचार सम्भव भएको बताउँदै उहाँ क्यान्सर सपोर्ट समूहमार्फत सचेतना फैलाइरहनुभएको छ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा अधिकांश क्यान्सरको उपचार सम्भव रहेको बताउनुभयो। उहाँका अनुसार फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ भने महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर प्रमुख छन्। दैनिक सयौँ बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन्।
विशेषज्ञहरूका अनुसार क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए पूर्ण रूपमा निको हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर जीवनशैली, वंशाणुगत कारण र विकिरण क्यान्सरका प्रमुख जोखिम कारक मानिन्छन्।
विश्व क्यान्सर दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रममार्फत “क्यान्सर लाग्दैमा जीवन सकिँदैन” भन्ने सन्देश फैलाइँदै छ। चिकित्सक र क्यान्सर विजेताहरू दुवैले समयमै जाँच, उपचार र सकारात्मक सोचले क्यान्सरलाई परास्त गर्न सकिनेमा जोड दिएका छन्।

