टिफरको ठक्करबाट रसुवामा एक युवतीको मृत्यु
रसुवा,माघ २१ । रसुवा जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा टिफरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। कालिका गाउँपालिका–२ लामाटोलमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहका अनुसार माघ २० गते साँझ करिब ७:५० बजे कालिका–१ राम्चेबाट कालिकास्थानतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प ८३१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा.५ ख ६३३२ नम्बरको टिफरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएकी युवतीलाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–२ यार्साकी अन्दाजी २१ वर्षीया योमाया तामाङ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का एक जना भने सकुशल रहेको बताइएको छ। दुर्घटनामा संलग्न टिफर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

