एलपी ग्यास अभावको हल्ला निराधार : निगम
काठमाडौं,माघ २१ । नेपाल आयल निगमले बजारमा फैलिएको एलपी ग्यास अभावको हल्ला निराधार रहेको स्पष्ट पारेको छ। निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले सामाजिक सञ्जालमार्फत उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दै ग्यास आपूर्ति सहज र पर्याप्त रहेको जानकारी दिनुभएको हो।
उनका अनुसार दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको छ। नेपालमा प्रतिदिन करिब ९० बुलेट ग्यास आवश्यक पर्ने गर्दछ, जसअनुसार झण्डै १ लाख १४ हजार सिलिण्डर खपत हुने गर्छ। तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आईओसी) बाट आवश्यकताभन्दा बढी ग्यास लोडिङ भएको निगमले जनाएको छ।
निगमले दिएको विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ। तीमध्ये केही बुलेट नेपालतर्फ आउने क्रममा रहेको र केही बाटोमै रहेको बताइएको छ।
निगमले आपूर्ति व्यवस्था सामान्य अवस्थामा रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न अनुरोध गरेको छ। साथै, निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने प्रबन्ध गरिएको प्रबन्ध निर्देशक भट्टले स्पष्ट पार्नुभएको छ।

