सिन्धुपाल्चोक–२ मा चुनावी सरगर्मी बढ्यो, मुख्य दलबीच कडा प्रतिस्पर्धा
चौतारा, माघ २१ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रमा मुख्य तीन राजनीतिक शक्तिका उम्मेदवारसहित १८ जना चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
यस क्षेत्रबाट नेकपा (एमाले) का शेरबहादुर तामाङ, नेपाली कांग्रेसका वंशलाल तामाङ र नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाललाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलकबहादुर श्रेष्ठसहित अन्य दल र स्वतन्त्र उम्मेदवार पनि मतदातामाझ सक्रिय छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका मोहनबहादुर बस्नेतले ३९ हजार ३८१ मत ल्याएर जित हात पारेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले २७ हजार ५१५ मत प्राप्त गरेका थिए। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ४५३ मत पाएका थिए।
यसपटक एमाले र कांग्रेस दुवै पार्टी प्रतिष्ठाको लडाइँमा छन्। दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित नेकपाका उम्मेदवार युवराज दुलाल भने राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ चुनावी अभियानमा होमिएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनको नतिजा हेर्दा नेकपाको मताधार कमजोर देखिए पनि विकास निर्माणमा आफ्नो सक्रियता र जनसमर्थनका आधारमा जित हासिल गर्ने उनको दाबी छ।
एमाले उम्मेदवार शेरबहादुर तामाङले पार्टीको सुदृढ संगठन, भूगोलमा गहिरो पहुँच र आफ्नो संसदीय अनुभवलाई बलियो आधार मानेका छन्। उनले मेलम्ची क्षेत्रको विकास, खानेपानी व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिक एजेन्डा बनाएका छन्। नेपाली कांग्रेस उम्मेदवार वंशलाल तामाङले स्थानीय तहमा पार्टीको मजबुत उपस्थिति नै आफ्नो जितको आधार भएको बताएका छन्।
इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका उनले आर्थिक समृद्धि र स्थानीय विकासलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो र जनभेटघाटमा व्यस्त छन्। मतदाताको मन जित्ने होडसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

