नुवाकोटको ऐतिहासिक साततले दरबार पुनर्निर्माणको नगरप्रमुखद्वारा स्थलगत अनुगमन
विदुर, माघ २१ — नुवाकोटको ऐतिहासिक साततले दरबार तथा तलेजु भवानी मन्दिर पुनर्निर्माण अन्तर्गत भइरहेको निर्माण कार्यको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पुनर्निर्माण प्रक्रियामा देखिएका विविध समस्या सरोकारवाला निकायहरूसँग समन्वय गरेर समाधान गर्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
हाल दरबार र तलेजु भवानी मन्दिरको जगसतह सुरक्षित बनाउन टेवा पर्खालसहित संरचना निर्माणको काम अगाडि बढिरहेको छ। आगामी चरणमा पहुँचमार्ग विस्तार, ढलनाली व्यवस्थापन, जग्गा सीमाङ्कन लगायतका विषय प्राथमिकतामा राखिने जनाइएको छ।
सो अवसरमा चिनियाँ प्राविधिक प्रतिनिधिको उपस्थितिमा वडा नम्बर २ का अध्यक्ष दिपक कायस्थसहित सरोकारवाला व्यक्तिहरूसँग छलफल गरिएको थियो। नगरप्रमुख श्रेष्ठले कार्य सञ्चालनको अवस्था, आगामी गतिविधि तथा प्राविधिक पक्षबारे जानकारी लिनुका साथै समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको थियो।
स्थानीय सम्पदाको संरक्षण र ऐतिहासिक धरोहरको पुनर्स्थापनामा नगरपालिकाको सक्रिय भूमिका रहने नगरप्रमुख श्रेष्ठले बताउनुभएको छ।

