मुगुमा अज्ञात पशुरोगको प्रकोप : एक महिनामा २०० भन्दा बढी भेडा–बाख्रा मरे
मुगु,माघ २१— मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १० र ११ अन्तर्गतका दई, कोटबाडा, धैन, लोली, तल्लिबाडा, हितबाडा, रोकायाबाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि फैलिएको अज्ञात पशुरोगका कारण २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन्। पशु मृत्यु बढ्दै जाँदा स्थानीय किसान र गोठालाहरू चिन्तित बनेका छन्।
सोरु गाउँपालिका–१० का कार्यवाहक अध्यक्ष सर्पबहादुर शाहीका अनुसार रोग सरुवा प्रकृतिको हुन सक्ने आशंका गरिएको छ र यसको जानकारी पाएको तीन दिन भएको छ। यी वडामा मुख्य जीविकोपार्जन नै भेडा–बाख्रापालन भएकाले रोग तीव्र रूपमा फैलिनु स्थानीयका लागि गम्भीर समस्या बनेको छ। नेपाल किसान महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाले यहाँ करिब १,५०० देखि २,००० सम्म भेडा–बाख्रा रहेको र दैनिक पशु मर्न थालेपछि त्रास फैलिएको बताउनुभयो।
संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दुब्लाउँदै जाने, खोकी लाग्ने, दिसा गनाउने र लुतो देखिने जस्ता लक्षण देखिएको गोठालाहरूले जनाएका छन्। स्थानीय गोठाला रतन मल्लका ८० भेडामध्ये १० वटा, पुन्न मल्लका ६० मध्ये नौवटा तथा काईचन्द्र देवकोटाका १५० बाख्रामध्ये २० वटा मरेका छन्। यस्तै प्रदीप प्याकुरेलका १०, परेकलाल जैसीका ६ र कबे जैसीका ७ बाख्रा मरेको जनाइएको छ।
स्थानीय देवीभक्त प्याकुरेलका अनुसार नजिकै पशु स्वास्थ्य सेवा उपलब्ध नभएकाले उपचार र परीक्षण हुन सकेको छैन। सदरमुकाम पुग्नै एक दिन लाग्ने हुँदा रोगको पहिचान र नियन्त्रणमा कठिनाइ भइरहेको उहाँको भनाइ छ।
स्थानीयवासीले पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालयबाट समयमै चासो नलिएको गुनासो गर्दै तत्काल प्राविधिक टोली परिचालन, रोग पहिचान, नियन्त्रण र पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन्। पशुपालनमै निर्भर परिवारहरूको आयस्रोत जोखिममा परेपछि क्षेत्रीय स्तरमै आपत्कालीन हस्तक्षेपको आवश्यकता देखिएको छ।

