निर्वाचन प्रचारप्रसार खर्च बैंक खातामार्फत गर्न आयोगको आह्वान
काठमाडौँ,माघ २१ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी र खर्च बैंक खातामार्फत मात्रै गर्न आह्वान गरेको छ। आयोगले ‘निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरी लागू गरेपछि यस्तो व्यवस्था गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार कार्यविधि आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ। सोहीअनुसार क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशनसमेत दिइएको जनाइएको छ। आयोगका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
अब राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, अन्य आम्दानी र खर्चसम्बन्धी सबै कारोबार सम्बन्धित बैंक खातामार्फत गर्नुपर्नेछ। यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगले मातहतका निर्वाचन कार्यालय र बैंक तथा वित्तीय संस्थालाई कार्यविधिअनुसार समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्ने यो अभ्यास सुशासन र पारदर्शितातर्फको कदम भएको जनाउँदै आयोगले सबै सरोकारवाला पक्षबाट सक्रिय सहयोगको अपेक्षा गरेको छ ।

