दमक सवारी दुर्घटना : दुई युवाको ज्यान गयो
झापा,माघ २२— झापाको दमकमा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल दमक–१ बरगाछी क्षेत्रमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका इलाम चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही स्थानका १९ वर्षीय जनम राईलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

