एकद्वार प्रणालीबाट स्वास्थ्य बिमा सुधार्न प्रधानमन्त्रीको जोड
काठमाडौँ,माघ २२— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ। सिंहदरबारमा आयोजित छलफलमा उहाँले बिमितले तोकिएको शुल्क तिरेपछि सहज रूपमा उपचार पाउनुपर्ने र छरिएर रहेका सबै स्वास्थ्य बिमा कार्यक्रमलाई एउटै प्रणालीमा समेट्नुपर्नेमा जोड दिनुभयो।
स्वास्थ्य बिमा हाल सङ्कटमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यले जिम्मेवारीबाट पछि हट्न नमिल्ने र आवश्यक परे ऋण खोजेर भए पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। १६ लाखभन्दा बढी बिमितलाई लाभ पुगेकाले यसको निरन्तरता र सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो।
स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले सुर्ती कर कोषको रकम स्वास्थ्य बिमामा ल्याउनुपर्ने र अर्थ मन्त्रालयबाट भुक्तानी ढिलाइ हुँदा समस्या बढेको बताउनुभयो। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार सेवाप्रदायक संस्थालाई अझै अर्बौँ रकम भुक्तानी गर्न बाँकी छ र स्रोत नआए कार्यक्रम प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

