प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ करिब ८० हजार सेना परिचालन



काठमाडौँ,माघ २२ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना बुधबारदेखि औपचारिक रूपमा परिचालन भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार १६५ निर्वाचन क्षेत्रमा ७९ हजार ७२७ सैनिक खटिएका छन्।

राष्ट्रपति स्वीकृतिपछि सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्दै संयुक्त गस्ती, सुरक्षा निगरानी र आवश्यक सर्च अपरेसन गर्नेछ। सेनाले मतदान स्थलको सुरक्षा नक्साङ्कन, मतपत्र ढुवानी, निर्वाचन अधिकृतका कार्यालय र मतगणना स्थलको सुरक्षामा तेस्रो घेरामा रहेर जिम्मेवारी सम्हाल्ने जनाएको छ।

देशभरका विमानस्थल, कारागार, राष्ट्र बैंक तथा अन्य रणनीतिक संरचनामा पनि सेनाको सुरक्षा तैनाथी रहनेछ। दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत सुरक्षाकर्मी र मतपेटिका ढुवानी गर्ने तयारी गरिएको छ भने पाँच स्थानमा हवाई साधन तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। निर्वाचन अवधिभर अनुगमन र समन्वयका लागि विभिन्न तहमा निर्वाचन सेलसमेत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्