मागभन्दा बढी ग्यास आयात, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह



काठमाडौँ,माघ २२— नेपाल आयल निगमले बजारमा एलपी ग्यास अभावको अवस्था नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार हाल ग्यासको आयात दैनिक मागभन्दा बढी भइरहेको छ।

देशभर दैनिक करिब ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि पछिल्ला तीन दिनको अवधिमा इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेको जनाएको छ। लोड भएका केही बुलेट बाटोमै रहेका र बाँकी छिट्टै नेपाल भित्रिने क्रममा रहेकाले आपूर्तिमा समस्या नआउने निगमको भनाइ छ।

बरौनी रिफाइनरी केन्द्रमा केही समय मर्मतसम्भार हुँदा आपूर्तिमा सामान्य अवरोध देखिए पनि अहिले आयात नियमित भइसकेको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार हल्लाका कारण उपभोक्ताले घरमा रहेका खाली सिलिन्डरसमेत भर्न थालेपछि कृत्रिम अभाव जस्तो देखिएको हो।
नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले पनि बजारमा व्यापक अभाव नभएको स्पष्ट पार्नुभएको छ। निगमले पछिल्ला दिनमा मागको तुलनामा दैनिक २५ देखि ४२ बुलेटसम्म अतिरिक्त ग्यास नेपाल भित्रिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्