ओपिडी सेवा २५ हजारमा सीमित
काठमाडौँ,माघ २२ — स्वास्थ्य बिमा बोर्डले बिमितलाई उपलब्ध गराइँदै आएको बहिरङ्ग (ओपिडी) सेवामा खर्चको सीमा तोकेको छ। आगामी फागुन १ गतेदेखि बिमितले ओपिडीमार्फत अधिकतम २५ हजार रुपियाँसम्मको मात्र सेवा लिन पाउने व्यवस्था लागू हुने बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलका अनुसार अनावश्यक परीक्षण र बढ्दो वित्तीय भार नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो। उहाँले कुल एक लाख रुपियाँसम्मको बिमा सीमा भने यथावत् रहने स्पष्ट पार्नुभयो। अस्पताल भर्ना, आकस्मिक सेवा तथा आइसियु उपचारमा भने ओपिडी जस्तो छुट्टै सीमा नरहने बताइएको छ।
बोर्डका अनुसार हाल बिमा रकमको ७१ प्रतिशत खर्च ओपिडी सेवामै हुने गरेको छ। खर्च नियन्त्रणका लागि यो अनुपात घटाएर २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। बोर्डले सेवाप्रदायक संस्थालाई भुक्तानी गर्न नसक्दा आर्थिक दबाब बढेको र केही अस्पतालले बिमा सेवा नै बन्द गर्न थालेको जनाइएको छ।

