पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु–कुहिरो, पहाड र हिमालमा मौसम सफा
काठमाडौँ,माघ २२ — हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ भने देशका बाँकी भागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा भने बिहानैदेखि तुवाँलो लागेको छ।
महाशाखाले बिहीबार दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ। तराईका धेरैजसो स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज रातिको अवस्थाबारे पनि महाशाखाले तराईका केही स्थानमा कुहिरो लाग्ने जनाएको छ। पहाडी र हिमाली क्षेत्रमा भने मौसम सफा नै रहने बताइएको छ।
मौसमविद्ले हिमपात, वर्षा, हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाएका छन्। यसले पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबै निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ।

