निर्वाचन माहोल तातिँदै: फेसबुकमा बढ्यो राजनीतिक विज्ञापन, उम्मेदवारको डिजिटल दौड तीव्र
काठमाडौँ — आउँदो फागुन २१ मा तय प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू यतिबेला आ–आफ्ना क्षेत्रमा मत बटुल्न सक्रिय भएका छन्। घरदैलो अभियान, भेटघाट र जनसम्पर्कसँगै मतदाता रिझाउने विभिन्न तर्क, योजना र प्रतिबद्धता सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। निर्वाचनको यो चहलपहलले गाउँदेखि सहरसम्म राजनीतिक माहोल तातेको छ भने सामाजिक सञ्जाल पनि निर्वाचनसम्बन्धी सामग्रीले भरिभराउ देखिएको छ।
सूचना र जनसम्पर्कको प्रभावकारी माध्यमका रूपमा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै उम्मेदवारहरू आफ्नो डिजिटल उपस्थितिलाई मजबुत बनाउने प्रयासमा जुटेका छन्।विशेषगरी नेपाली प्रयोगकर्ताको सबैभन्दा ठूलो उपस्थिति रहेको फेसबुकमा निर्वाचनकेन्द्रित सामग्रीको मात्रा उल्लेख्य रूपमा बढेको छ। भर्चुअल माध्यममा उम्मेदवारको सक्रियताले फेसबुकलाई भने प्रत्यक्ष आर्थिक लाभ पुगिरहेको देखिन्छ।
धेरैभन्दा धेरै मतदातासम्म सन्देश पुर्याउन उम्मेदवार तथा दलहरूले फेसबुक पेज र अकाउन्टमार्फत विज्ञापन गर्ने प्रवृत्ति तीव्र बनेको छ। ‘स्पोन्सर्ड’ सामग्रीमार्फत आफ्ना एजेन्डा, योजना र परिचय प्रस्तुत गर्ने क्रम बढेको छ। निर्वाचन आचारसंहिताका कारण कतिपय उम्मेदवारले प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपमा, अरूका पेज वा अकाउन्टमार्फत पनि सामग्री प्रवाह गरिरहेका छन्।
सामाजिक सञ्जालविज्ञ रवि सिङ्घलका अनुसार निर्वाचनका बेला फेसबुकमार्फत प्रचारप्रसार गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। उहाँका अनुसार नेपालभित्र मात्रै नभई विदेशबाट पनि यस्ता सामग्रीमा खर्च भइरहेको छ। फेसबुकको मातृ कम्पनी मेटाले सार्वजनिक गर्ने ‘एड लाइबे्ररी’मा देखिएको तथ्याङ्कभन्दा बाहिर पनि ठूलो परिमाणमा खर्च भइरहेको उहाँको दाबी छ।
एड लाइबे्ररीमा उपलब्ध पछिल्ला तीन महिनाको विवरणअनुसार खर्चका आधारमा राजनीतिक दल, उम्मेदवार र निर्वाचनसम्बन्धी संस्थाहरू अगाडि देखिन्छन्। यस अवधिमा गतिशील लोकतान्त्रिक पार्टीले ४५ वटा विज्ञापनमा १ हजार ३४१ डलर खर्च गरेको देखिएको छ। उज्यालो नेपाल पार्टी र उज्यालो नेपाल अफिसियल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पछिल्लो एक हप्तामा मात्रै उज्यालो नेपाल अफिसियलले ३६५ डलर खर्च गरेको उल्लेख छ।
तीन महिनाको अवधिमा राष्ट्रिय परिवर्तन पार्टी ओखलढुङ्गा, श्री गुरुङ, वीरेन्द्रबहादुर बस्नेत सचिवालय, फेथ एन्ड होप, जेनजी युनाइटेड मुभमेन्ट, सिटिजन्स फर भोटिङ नेपाल, सुनीलकुमार शर्मा, नैनसिंह महर र आरएसपी कपभेरेजलगायत पेजहरू पनि विज्ञापन खर्च गर्ने सूचीमा देखिएका छन्।
सबै उमेर समूहका प्रयोगकर्ता फेसबुकमा सक्रिय हुने भएकाले यो प्लेटफर्म उम्मेदवार र दलहरूको प्रमुख रोजाइमा परेको सामाजिक सञ्जालविज्ञहरू बताउँछन्। तथ्याङ्कअनुसार नेपालमा फेसबुक प्रयोगकर्ताको सङ्ख्या अन्य सामाजिक सञ्जालभन्दा उल्लेख्य रूपमा बढी छ। यद्यपि विज्ञहरू मेटा लाइबे्ररीमा देखिएकोभन्दा धेरै गुणा बढी खर्च भइरहेको अनुमान गर्छन्। निर्वाचन आचारसंहिताले सामाजिक सञ्जाल खर्चलाई पनि सीमाभित्र राखेकाले वास्तविक खर्च नदेखाउने रणनीति अपनाइएको हुन सक्ने उनीहरूको भनाइ छ।
यसबीच निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने खर्च र आचारसंहिताविपरीत सामग्रीमाथि निगरानी बढाएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सुरक्षा निकायसमेत संलग्न साइबर संयन्त्रमार्फत फेसबुकलगायत माध्यममा भइरहेको गतिविधिमाथि अनुगमन भइरहेको छ। निर्वाचन नजिकिँदै जाँदा भौतिक प्रचारसँगै डिजिटल मैदान पनि उत्तिकै प्रतिस्पर्धात्मक बन्दै गएको छ।

