विदुर नगरपालिकाद्वारा विद्यार्थी दुर्घटना बीमा दाबी रकम हस्तान्तरण



नुवाकोट,माघ २२— विद्यालय जीवनमा हुन सक्ने सम्भावित दुर्घटनाबाट विद्यार्थी तथा अभिभावकमा पर्न सक्ने आर्थिक तथा मानसिक बोझ कम गर्ने उद्देश्यले विदुर नगरपालिकामार्फत सञ्चालन भइरहेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रमअन्तर्गत बीमा दाबी रकम वितरण गरिएको छ। नगर प्रमुख राजन श्रेष्ठले सम्बन्धित बीमा कम्पनीबाट प्राप्त रकम विद्यालयका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नुभएको हो।

यस कार्यक्रमले दुर्घटनापछि उपचार खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउनुका साथै प्रभावित विद्यार्थीलाई निरन्तर शिक्षामा संलग्न रहन प्रेरित गर्ने लक्ष्य लिएको छ। बीमा दाबीअन्तर्गत त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयकी विद्यार्थी युनिका तमाङले एक लाख रुपैयाँ प्राप्त गरेकी छन्। त्यसैगरी श्री बच्छलादेवी माध्यमिक विद्यालयका विद्यार्थी समिप खतिवडालाई ५४ हजार रुपैयाँ र शहीद जगत प्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालयकी विद्यार्थी कञ्चन तमाङलाई पाँच हजार आठ सय पचास रुपैयाँ भुक्तानी गरिएको छ।

विद्यार्थी केन्द्रित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शिक्षामा पहुँच, निरन्तरता र गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ नगरपालिकाले यस्तो कार्यक्रम अघि बढाएको नगर प्रमुख श्रेष्ठले बताउनुभएको छ। यस पहलले विद्यार्थी र अभिभावकलाई राहत मिल्नुका साथै शैक्षिक वातावरण थप सुरक्षित र भरोसायोग्य बन्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्