अन्य दलहरुसँग चुनाव लक्षित भेटघाट भएको छैन: काँग्रेस प्रवक्ता चालिसे
काठमाडौं,माघ २२ । नेपाली काँग्रेसले आफ्नो दलले अन्यदलहरुसँग चुनाव लक्षित भेटवार्ता नभएको स्पष्ट पारेको छ ।
पार्टी मुख्यालय सानेपामा विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता देवराज चालिसेले आफ्नो दलले कुनै पनि दलसँग चुनावी गठनबन्धन नगर्ने स्पष्ट पार्दै त्यस्ता कुनै राजनीतिक भेटवार्ता अन्यदलहरुसँग नभएको प्रष्ट पार्नुभयो ।
‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’ उहाँले भन्नुभयो ।
प्रवक्ता चालिसेले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गर्नु भयो। उहाँले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराउनु भयो ।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै उहाँले कांग्रेस त्यसप्रति सचेत रहेको समेत बताउनु भयो ।

