नुवाकोटमा सामान्य विवादपछि हत्या, मलखाल्डोमा गाडिएको शव निकाल्ने तयारी



नुवाकोट,माघ २२— बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा सामान्य विवादपछि एक पुरुषको हत्या भएको घटना सार्वजनिक भएको छ। हत्या पश्चात् मृतकको शव मल खाल्डोमा पुरिएको बताइएको छ यद्यपि प्रहरीले शव निकाल्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार हिजो साँझ घटेको घटनामा ४४ वर्षीय कर्मी भनिने शन्त बहादुर तामाङको मृत्यु भएको हो। उनी साविक बेनपा–४ डाडाखर्कका स्थायी बासिन्दा भए पनि हाल बेलकोटगढी–९ सिउरेनीमा बसोबास गर्दै आएका थिए।

घटनामा संलग्न भएको आशंकामा सोही स्थानका ‘पुलिस’ भनिने शेषमान तामाङ र शिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ। दुवै जनाको उमेर अन्दाजी ३२–३३ वर्ष रहेको जनाइएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक र पक्राउ परेका व्यक्ति छिमेकी रहेको खुलेको छ। हिजो बेलुका मदिरा सेवन गरी सँगै बसेका बेला सामान्य विवाद चर्किँदै झगडामा परिणत भएको र सोही क्रममा शन्त बहादुर तामाङको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। घटना लुकाउने उद्देश्यले शव मल खाल्डोमा पुरिएको बताइएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्