उपचारपछि चुनावी मैदानमा फर्किए रवि लामिछाने, चितवन–२ मा सक्रियता सुरु
चितवन,माघ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी गतिविधिलाई तीव्रता दिँदै चितवन पुगेका छन्। खुट्टामा संक्रमण देखिएपछि केही समयदेखि काठमाडौँमा आराम गरिरहेका लामिछाने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूप आज चितवन आइपुगेका हुन्।
यसपटक पनि उनले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका छन्। यसअघि माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बेला उनको खुट्टामा चोट लागेको थियो। त्यसपछि उनलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनी पुनः चुनावी अभियानमा फर्किएका हुन्।
चितवन पुगेपछि लामिछानेले स्थानीय भेटघाट र चुनाव केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको उनका निकट स्रोतले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको गतिविधि बढिरहेका बेला लामिछानेको सक्रियता पनि पुनः सुरु भएको छ।

