बैतडीमा जन्ती बोकेको बस दुर्घटना, आठ जनाको मृत्यु, दर्जनौँ घाइते
बैतडी,माघ २३ — बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीबार राति करिब ९:१० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पवनदुत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बसमा १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ जना सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खसेकाले दुर्घटना गम्भीर बनेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको हो। विष्णुदत्त जोशी र नरेश राज जोशीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ३२ जनालाई हाल कोटिला स्वास्थ्य चौकीमा राखिएको छ, जसमा तीन जनाको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपति डीएसपी जंगबहादुर कुँवरले जानकारी दिनुभयो।
दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरी तथा पाटनबाट सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ। स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सक्रिय सहयोग गरिरहेका छन्।
बेहुली लिएर फर्किने क्रममा भएको यो दुर्घटनामा बस धेरै तल खसेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

