म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा
म्याग्दी,माघ २३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेकपा (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ।
अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट उम्मेदवारी दर्ताकै दिन राजीनामा दिएर पुख्र्यौली थलोबाट चुनावी मैदानमा उत्रिनुभएका डा. पुनको सक्रियताले म्याग्दीको राजनीतिमा नयाँ तरङ्ग ल्याएको स्थानीयवासी बताउँछन्। राष्ट्रिय राजनीतिमा देखिएको नयाँ परिवेश, उदाउँदा राजनीतिक शक्ति, स्वतन्त्र उम्मेदवारको प्रभाव र दलहरूको रणनीतिका कारण यसपटक म्याग्दीको निर्वाचन परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठको भनाइ छ।
विगतमा राष्ट्रिय राजनीतिक बहसमा ओझेलमा पर्ने म्याग्दीको चुनाव डा. पुनको उम्मेदवारीसँगै चर्चामा आएको बताउँदै स्थानीय जानकारहरू यसपटकको निर्वाचनलाई अत्यन्तै रोचक भएको विश्लेषण गर्छन्। राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावले मतदाताको ध्यान तानेको उनीहरूको भनाइ छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार बन्नुभएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा पनि चुनावी प्रतिस्पर्धामा छन्।
स्वतन्त्र उम्मेदवार डा. पुनलाई सार्वजनिक रूपमा समर्थन गर्ने घोषणा गरिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी भने कायमै रहेको छ। एमालेका उम्मेदवार श्रेष्ठ दोस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको हो भने अन्य अधिकांश उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। विसं २०७४ पछि यसपटक दलहरूबीच गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धा हुन लागेको हो।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी हुनुभएको थियो। त्यसयता म्याग्दीमा सत्ता समीकरण परिवर्तन हुँदै आएको छ। हाल जिल्लामा ८६ हजार ३९७ मतदाता रहेका छन् भने ८२ मतदानस्थल र १२० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू गाउँगाउँमा पुगेर घरदैलो, भेटघाट र संवादमा व्यस्त देखिएका छन्। ग्रामीण क्षेत्रमा राजनीतिक गतिविधि बढेसँगै चुनावी माहोल तातेको छ। मतदाताहरू भने सबै उम्मेदवारका योजना र प्रतिबद्धता सुनेर मात्र निर्णय लिने मनस्थितिमा छन्।उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने र कानुन, बजेट तथा योजनामा जिल्लावासीको आवश्यकता समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी प्रतिबद्धतामध्ये कसले मतदाताको विश्वास जित्छ भन्ने कुरा निर्वाचन परिणामले नै तय

