नुवाकोट–१ मा डा. प्रकाशशरण महतको चुनावी अभियान तीव्र



नुवाकोट,माघ २३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पछिल्लो समय उहाँ घरदैलो अभियानदेखि मेलापात र स्थानीय भेटघाटमा सक्रिय रूपमा सहभागी हुँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ।

अभियानका क्रममा डा. महतले मतदातासँग आत्मीय व्यवहार देखाउँदै अभिवादन, कुराकानी र समस्याबारे सुनुवाइ गरिरहेको दृश्य देखिन थालेको छ। यसले स्थानीय स्तरमा चुनावी माहोल थप तातेको छ।बिहीबार डाक्टर महतसहितको नेता कार्यकर्ता नुवाकोटको शिवपुरी गाउँपालिकामा भेटघाटलाई तिव्रता दिलाएका छन् ।

शिक्षा र राजनीतिक यात्राका क्रममा विदेशसम्म अध्ययन गर्ने अवसर पाउनुभएका डा. महत पार्टी संगठन हुँदै समानुपातिक सूचीमार्फत संविधानसभा सदस्य, सांसद तथा पटक–पटक मन्त्रीसमेत बन्नुभएको अनुभवी नेता हुनुहुन्छ। यद्यपि विगतमा जनतासँग प्रत्यक्ष सम्पर्क कम रहेको र स्थानीय गुनासा तथा पीडा नजिकबाट नसुनेको भन्ने आलोचना पनि उहाँमाथि लाग्दै आएको थियो।

तर हाल देखिएको चुनावी गतिविधि, व्यवहार र सक्रियताले भने धेरै मतदातालाई फरक अनुभूति गराएको स्थानीयहरूको भनाइ छ। यसै सन्दर्भमा कतिपय मतदाताले डा. महतको यो सक्रियता चुनावी समयसम्म सीमित रहने कि दीर्घकालीन परिवर्तनको संकेत हो भन्ने प्रश्न उठाउन थालेका छन्।

स्थानीय जानकारहरूका अनुसार यसको वास्तविक उत्तर भने निर्वाचनपछिको व्यवहार, निरन्तरता र जनताप्रतिको प्रतिबद्धताले नै स्पष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्