निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईं पुनः पक्राउ
काठमाडौं,माघ २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। शुक्रबार (माघ २३ गते) काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार प्रसाईंलाई पक्राउ गरिएको हो। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पत्र पठाएपछि कानुनी प्रक्रियाअनुसार उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोले जनाएको छ।
साइबर ब्युरोका एसपी दीपक अवस्थीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भएपछि प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आयोगको पत्रका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ र रिहा हुँदै आएका छन्। पछिल्लो घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

