दोलखा शैलुङ–६ चित्रेमा आगलागी, गोठ जलेर नष्ट; तीन पशु मरे



दोलखा, माघ २३ । शैलुङ गाउँपालिका–६ चित्रेमा गएराति भएको आगलागीले एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार राति करिब ९ बजे ७२ वर्षीय अम्बरबहादुर तामाङको गोठमा ताप्न बालिएको आगो अचानक फैलिँदा गोठमा रहेका १ भैंसी, १ राँगो र १ पाडी जलेर नष्ट भएका छन्।

आगो नियन्त्रण गर्ने क्रममा घरधनी अम्बरबहादुर तामाङका दुवै हात सामान्य रूपमा जलेर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो सोही राति पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

घटना स्थल भैंसेचोकबाट करिब ६ किलोमिटर पश्चिममा पर्छ। प्रहरीका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने पीडित परिवारलाई सहयोगका कदमहरू पनि चालिँदै छन्।

प्रतिक्रिया दिनुहोस्