आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै



काठमाडौँ माघ २३ । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता भोलि शनिबारबाट शुरु हुँदैछ ।

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी-२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकपको भोलि हुने उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी भोलि नै अर्को खेलमा वेष्ट इन्डिज् र स्कटल्याण्ड एकआपसमा भिड्दैछन् ।

भारतसँगको सम्बन्धमा आएको तनावका कारण बंगलादेशले विश्वकप नखेल्ने भएपछि आइसिसीले स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको थियो । यसैगरी पाकिस्तानले पनि भारतीय भूमि र भारतसँग नखेल्ने बताएको छ ।

यद्यपी आइसीसीले यो निर्णयमा पुनर्विचार गर्न पाकिस्तानलाई आग्रह गरिरहेको छ । विश्वकप क्रिकेटमा नेपालले पनि तेस्रो पटक सहभागिता जनाउँदैछ ।

यसअघि सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलेको नेपालले यो विश्वकपमा पहिलो खेल आइतबार इङ्ल्याण्डसँग खेल्नेछ ।

विश्वकप अघि खेलेका दुई वटा अभ्यास खेलमा युएइ र क्यानडालाई हराउदै शतप्रतिशत नतिजा निकालेको नेपाली टोली उच्च मनोबल सहित इङ्ल्याण्ड विरुद्ध मुम्वइस्थित रंगशालामा आइतबार सवा ३ बजे प्रतिस्पर्धामा उत्रदैँ छ ।

विश्वकपमा नेपालको दोस्रो खेल इटलीसँग माघ २९ गते खेल्नेछ । यसैगरी फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्याण्डसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता अघि आयोजना गरिएको क्याप्टेनसँगको अन्तरक्रियामा नेपालका कप्तान रोहित पौडेलले आफ्नो टीमले राम्रो गरिरहेकोले विश्वकपमा पनि उत्कृष्ट नतिजा निकाल्ने बताउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्