नुवाकोट बेलकोटगढी–९ सिउरेनीमा गाडिएको अवस्थामा शव भेटिएको घटनाको रहस्य खुल्यो



नुवाकोट, माघ २४ । जिल्लाको बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा एक पुरुषको शव शंकास्पद रूपमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः३० बजे सो स्थानमा ४४ वर्षीय सन्तबहादुर तामाङको शव फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी अधिकृतसहितको टोली तथा डग ह्यान्डलिङसहितको विशेषज्ञ टोली घटनास्थलमा खटिएको थियो।

अनुसन्धानका क्रममा बुधबार साँझ करिब ८ः३० बजे बेलकोटगढी नगरपालिका–९ सिउरेनी बस्ने ३५ वर्षीय शेषमान तामाङ (पुलिस भनिने) र ३३ वर्षीय शिव तामाङ (मैते भनिने) ले सन्तबहादुर तामाङमाथि कुटपिट गरी ज्यान लिई घर नजिकै रहेको मलखादको खाडलमा शव गाडेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई नुवाकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको मुख्य कारण भने मादक पदार्थ सेवन गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ । यसअघि समेत विवाहेत्तर सम्बन्धको आशंकामा निज माथि बन्चरो प्रहार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्