रास्वपा नुवाकोट–१ र २ का उम्मेदवारद्वारा काठमाडौंमा मतदातासँग आज भेटघाट गर्दै
काठमाडौं,माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ का उम्मेदवार डा. अच्युतम लामिछानेले आज काठमाडौंमा मतदातासँग भेटघाट कार्यक्रम राखेका छन्।
रास्वपा नुवाकोटका अनुसार काठमाडौंको बालाजुस्थित नागार्जुन पार्टी प्यालेसमा तय गरिएको उक्त कार्यक्रममा काम तथा व्यवसायको सिलसिलामा काठमाडौंमा रहेका नुवाकोटका मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी गरिएको हो। पार्टीको अनुमानअनुसार नुवाकोट क्षेत्र नम्बर १ का करिब ५० प्रतिशत र क्षेत्र नम्बर २ का करिब ४० प्रतिशत मतदाता काठमाडौंमा व्यापार–व्यवसाय तथा रोजगारीमा संलग्न रहेका छन्।
भेटघाट कार्यक्रममा आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण तथा मतदानको समयमा मतदातालाई आफ्नो मतदानस्थलसम्म पुग्न सहजीकरण गर्ने विषयमा समेत पार्टीले धारणा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
शनिबार बिहान ११ बजे तय गरिएको उक्त कार्यक्रममा रास्वपाकी समानुपातिक उम्मेदवार उमा तामाङको समेत उपस्थिति रहने बताइएको छ।

