टी–२० विश्वकपको महाकुम्भ आजदेखि, नेपालसहित २० टोली मैदानमा



काठमाडौँ, माघ २४ । क्रिकेटको छोटो संस्करण टी–२० को महाकुम्भ आज शनिबारदेखि सुरु हुँदै छ। भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै गर्दा नेपाली क्रिकेट समर्थकमा उत्साह चुलिएको छ। एक महिना चल्ने विश्वकपले नेपालमा पनि क्रिकेटको ज्वरो चर्किएको देखिन्छ।

आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा विश्वका २० उत्कृष्ट टोली सहभागी छन्। प्रतियोगितामा ३० दिनमा ५५ खेल खेलाइनेछ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ, जसमा प्रत्येक समूहमा पाँच–पाँच टोली रहनेछन्। समूह चरणबाट शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्। सुपर–८ पछि सेमिफाइनल हुँदै फागुन २४ गते विश्वकप विजेताको टुंगो लाग्नेछ।

२० ओभरको क्रिकेट सन् २००३ मा सुरु भएको हो। समय छोटो, रोमाञ्चक र परिणाम छिटो आउने भएकाले टी–२० क्रिकेट विश्वभर सबैभन्दा लोकप्रिय स्वरूप बनेको छ। यही लोकप्रियताका कारण आइसिसीले टी–२० विश्वकप दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको छ, जबकि एकदिवसीय विश्वकप चार वर्षमा एक पटक मात्र हुने गर्छ।

तेस्रो पटक विश्वकप खेल्दै नेपाल

नेपालले यसपटक समग्रमा तेस्रो र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्न लागेको हो। करिब चार महिनाअघि ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा च्याम्पियन बन्दै नेपाल सन् २०२६ को विश्वकपमा छनोट भएको थियो।
नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। पहिलो सहभागितामै तीनमध्ये दुई खेल जितेर नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो। त्यसपछि पुनः विश्वकप खेल्न नेपालले दस वर्ष कुर्नुपरेको थियो। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो।

यसपटक छनोट चरणमा उत्कृष्ट खेल र वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेको अनुभव बोकेर नेपाल विश्वकप खेल्न पुगेको छ। वार्म–अप खेलमा संयुक्त अरब इमिरेट्स र क्यानडालाई पराजित गरेपछि नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। त्यसैले नेपालले यसपालि सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ।

नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। कप्तान रोहित पौडेलले यसपटक सुपर–८ मा पुग्ने लक्ष्यसहित टोली मैदानमा उत्रिने बताएका छन्। पहिलो र दोस्रो सहभागितामा ‘अन्डरडग’ मानिएको नेपाल अहिले उलटफेर गर्न सक्ने टोलीका रूपमा हेरिन थालेको छ। नेपाली टोलीका खेलका टिकट भारतपछि सबैभन्दा छिटो ‘सोल्ड आउट’ हुनु पनि समर्थकको बढ्दो उत्साहको संकेत हो।

उपाधि दाबेदार टोलीहरू

टी–२० क्रिकेटमा उपाधि कसले जित्छ भन्ने अनुमान गर्न कठिन भए पनि पछिल्लो प्रदर्शन, अनुभव र टोली संयोजनका आधारमा आयोजक तथा साविक विजेता भारत, इङ्ग्ल्यान्ड र अस्ट्रेलियालाई प्रमुख दाबेदार मानिएको छ। यस्तै न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई पनि कमजोर आँक्न नसकिने देखिन्छ।

अहिलेसम्म आयोजक राष्ट्रले पुरुष टी–२० विश्वकप जितेको इतिहास छैन। भारत, वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड दुई–दुई पटक च्याम्पियन बनेका छन्। भारत यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

विश्वकपअघिका विवाद

यसपटकको विश्वकप राजनीतिक विवाद र स्वास्थ्य चिन्ताबीच आयोजना हुँदै छ। भारतसँगको सम्बन्ध चिसिएपछि बङ्गलादेशले सुरक्षा कारण देखाउँदै विश्वकप नखेल्ने निर्णय गरेपछि स्कटल्यान्डलाई समावेश गरिएको हो। पाकिस्तानले पनि भारतसँग नखेल्ने घोषणा गरेको छ, जसका कारण आर्थिक तथा प्रसारण पक्षमा असर पर्ने देखिएको छ। यस्तै भारतमा निपाह भाइरसको प्रकोपका कारण खेलाडीको स्वास्थ्यलाई लिएर समेत चिन्ता व्यक्त गरिएको छ।

यद्यपि यी सबै चुनौतीका बाबजुद टी–२० विश्वकप क्रिकेटप्रेमीका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ नेपालले पनि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएको छ।

प्रतिक्रिया दिनुहोस्