वरिष्ठ कलाकार सुनिल थापाको निधन, चलचित्र क्षेत्र शोकमा
काठमाडौँ,माघ २४ । वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। नेपाली चलचित्रमा खलनायक भूमिकामा विशेष पहिचान बनाएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
परिवारका अधिकांश सदस्य भारतको मुम्बईमा बस्दै आए पनि थापा काठमाडौँको शंखमुलस्थित अपार्टमेन्टमा बसोबास गर्दै आएका थिए।उनको निधनप्रति कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली चलचित्र उद्योगले एक महान् व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।
वरिष्ठ कलाकार थापाको योगदान सधैँ स्मरणीय रहने चलचित्रकर्मीहरूको भनाइ छ ।

