सप्तरीमा शङ्कास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते



सप्तरी,माघ २४ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।

वनभोज खान खोलामा पुगेका स्थानीय बालकहरूले ‘रकेट’ जस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए। सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

विस्फोटमा घाइते हुनेमा रुपनी–६ का साजन आलेमगरका ११ वर्षीय छोरा साहस मगर, मनोज थापामगरका ९ वर्षीय छोरा प्राशिस थापामगर, कर्णबहादुर थापामगरका १६ वर्षीय छोरा कविर थापामगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक रहेका छन्।

घाइतेमध्ये साहस र प्राशिसको पैतालामा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेको छ भने कविर र सुरजको शरीरका विभिन्न भागमा छर्रा लागेको प्रहरीले जनाएको छ। सबै घाइतेको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार घाइते बालकहरूको अवस्था हाल सामान्य रहेको छ। घटनास्थलमा फेला परेको शङ्कास्पद वस्तु र विस्फोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्