ओली झापा–५ मा घरदैलो गर्दै मतदाताका गुनासा र सुझाव सुन्दै



काठमाडौं,माघ २४ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा घरदैलो अभियान गर्दै मतदाता र स्थानीय जनताका कुरा सुन्नुभएको छ।

शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी चोक तथा बजारमा पुगेर ओलीले स्थानीयका माग, समस्या र सुझाव सुन्नुभएको हो। स्थानीय क्षेत्रका लागि पार्टीको प्रतिबद्धतापत्र तथा घोषणापत्र तयार गर्नु अघि जनताको आवाज बुझ्न घरदैलोमा आएको उहाँले बताउनुभयो।

कमल गाउँपालिकाको क्याम्पामा स्थानीयलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “म आज आफ्ना कुरा सुनाउन होइन, तपाईंहरूका कुरा सुन्न आएको हुँ। सबैको भावना र माग समेटेर देशलाई समृद्ध बनाउने अभियानमा हामी जुटेका छौँ।” उहाँले यस क्षेत्रको विकासमा आफूले कहिल्यै कञ्जुस्याइँ नगरेको पनि स्पष्ट पार्नुभयो।

राष्ट्रिय राजनीति र मुलुकलाई सही दिशामा लैजान केन्द्रमा रहनुपर्ने कारणले निर्वाचन क्षेत्रमा बारम्बार आउन नसकेको उल्लेख गर्दै ओलीले यहाँका समस्या र विकासप्रतिको चाहना आफूले राम्ररी बुझेको बताउनुभयो। उहाँले मतदातालाई भ्रम र डरमा नपरी देश निर्माणको पक्षमा खुलेर उभिन आग्रह गर्नुभयो।

एमाले झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीको घरदैलो अभियान केही दिनसम्म निरन्तर रहनेछ। स्थानीयले आफ्ना कुरा खुलेर राख्न सक्ने वातावरण बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्