पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र हिमाली क्षेत्रमा आंशिक बदली
काठमाडौं,माघ २५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति तराई भू–भागका केही स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

