नुवाकोट जाँदै गरेको बससहित दुई बस ठोक्किँएर दुर्घटना



काठमाडौं,माघ २५ । नुवाकोट जाँदै गरेको बससहित दुई बस ठोक्किँदा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–स्थित १० किलोमा दुर्घटना भएको छ। दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।

दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती ००६ ख ५२०८ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि दाङबाट काठमाडौँ आउँदै गरेको बस अनियन्त्रित भई स्थानीयको घरभित्र छिरेको थियो।

बस घरभित्र छिर्दा चिया पिउँदै गरेका एक स्थानीयको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घाइतेहरूको संख्या यकिन भइनसकेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइँदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिनुभएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्