सुनको मूल्य फेरि तीन लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो
काठमाडौं,माघ २५ । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नाघेको छ।साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ १५ गते एकैदिन २० हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्यमा उतार–चढाव हुँदै आएको छ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार प्रतितोला चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

