अण्डाको मूल्यमा भारी गिरावट, किसान निराश
चितवन,माघ २५। अण्डाको मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो। संघका अनुसार उत्पादन बढ्नु र भारतबाट अण्डा भित्रिनु मूल्य घट्नुको मुख्य कारण बनेको छ।
नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डा (३० वटाको) प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँमा कारोबार हुँदै आएको थियो। माघ ११ गतेसम्म ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।
संघका अध्यक्ष विनोद पोखरेलले भारतीय सेतो अण्डा ठूलो परिमाणमा नेपाल भित्रिँदा स्वदेशी अण्डाले बजार र उचित मूल्य पाउन नसकेको बताउनुभयो। भारतीय अण्डा रोक्न सरकारसँग निरन्तर माग गरिरहेको उहाँको भनाइ छ।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने संघले जनाएको छ, जसअनुसार प्रतिक्रेट लागत करिब ५७४ रुपैयाँ पुग्छ। लागतभन्दा निकै कम मूल्यमा अण्डा बिक्री हुन थालेपछि किसानहरू निराश बनेका छन्।

