नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन : १२ उम्मेदवार मैदानमा
• भरतसन्तोषी लामा
नुवाकोट,माघ २६ । नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२,फागुन २१ नजिकिँदै गर्दा चुनावी माहोल क्रमशः तातिँदै गएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत विवरणले यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा, मतदाता संरचना र उम्मेदवारको अवस्था स्पष्ट चित्रमा देखाएको हो ।
यस निर्वाचन क्षेत्रमा ६४ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र तोकिएका छन्। चुनावी मैदानमा १२ वटा राजनीतिक दलका १२ जना उम्मेदवार रहेका छन्। रोचक पक्ष के भने, यसपटक नुवाकोट–२ मा न महिला उम्मेदवार छन्, न त स्वतन्त्र उम्मेदवार नै। सबै उम्मेदवार पुरुष हुनु आफैंमा यो निर्वाचनको एउटा पक्ष बनेको छ।
मतदाता तथ्याङ्क हेर्दा क्षेत्र नम्बर २ मा लैंगिक सन्तुलन लगभग बराबरी देखिन्छ। कुल मतदातामध्ये ६३ हजार ५७८ जना पुरुष छन्, जुन ५१ दशमलव ३० प्रतिशत हो। त्यस्तै, ६० हजार ३६१ महिला मतदाता रहेका छन्, जसको प्रतिशत ४८ दशमलव ७० रहेको छ।मतदाताको संख्यात्मक सन्तुलन भए पनि उम्मेदवारीमा भने महिलाको उपस्थिति शून्य हुनु चुनावी बहसको विषय बनेको छ ।
उम्मेदवारहरूको सामाजिक समावेशीतर्फ हेर्दा खस–आर्य समुदायको प्रतिनिधित्व ६६ दशमलव ६७ प्रतिशत रहेको छ। आदिवासी जनजाति २५ प्रतिशत र दलित समुदायबाट ८ दशमलव ३३ प्रतिशत उम्मेदवार रहेका छन्। यसले केही हदसम्म सामाजिक विविधता झल्काए पनि समग्र समावेशीतामा अझै प्रश्न उठ्ने अवस्था देखिन्छ।
चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू उमेर, पृष्ठभूमि र दलगत हैसियतका हिसाबले विविध छन्। नेकपा (एमाले) बाट ६१ वर्षीय केशवराज पाण्डे, नेपाली कांग्रेसबाट ५९ वर्षीय जगदीश्वर नरसिंह केसी र नेकपाबाट ५८ वर्षीय हिरानाथ खतिवडा जस्ता अनुभवी अनुहारहरू मैदानमा छन्। नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४८ वर्षीय अचुतम लामिछाने चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका ५७ वर्षीय झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय सुभाष भट्ट, मंगोलिन नेपाल अर्गनाइजेसनका ३४ वर्षीय रेन्छेन तामाङ, नेकपा संयुक्तका ३० वर्षीय किरण तिमल्सिना र श्रम संस्कृति पार्टीका ३० वर्षीय विनोद कुमार तामाङ युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा छन्। माओवादी केन्द्रबाट ४८ वर्षीय नवराज ढुङ्गाना, उज्यालो नेपाल पार्टीका ५७ वर्षीय ज्ञानेन्द्र घले र आम जनता पार्टीका ५४ वर्षीय मानसिंह गदाइली पनि प्रतिस्पर्धामा छन्।
अनुभव र युवाको मिश्रण, पुराना र नयाँ दलबीचको टकराव तथा समावेशीताका सवालबीच नुवाकोट क्षेत्र नम्बर २ को निर्वाचन केवल एक सिटको प्रतिस्पर्धा मात्र नभई राजनीतिक प्रवृत्ति र जनमतको दिशासमेत संकेत गर्ने महत्वपूर्ण चुनावका रूपमा हेरिएको छ। अब मतदाताले कसलाई विश्वास गर्छन् भन्ने निर्णयले यस क्षेत्रको राजनीतिक भविष्य तय गर्नेछ।

