स्वास्थ्य बीमा बन्द हुन नदिन सरकार गम्भीर होस् : महामन्त्री पौडेल
काठमाडौँ, माघ २६ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा अघि बढाइएका स्वास्थ्य बीमा सुधारका काम सरकार परिवर्तनसँगै अवरुद्ध भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौँ–५ मा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य बीमा बन्द भए नागरिक उपचारबाट वञ्चित हुने गम्भीर अवस्था आउने चेतावनी दिनुभयो।
‘हामी सरकारमा हुँदा स्वास्थ्य बीमा कहीँ पनि बन्द भएको थिएन, अहिलेको सरकारले पनि बन्द हुन दिनु हुँदैन,’ पौडेलले भन्नुभयो। मन्त्री रहँदा नीतिगत तथा व्यवहारिक सुधारसहित कानुनी संशोधनको चरणमा पुगेको प्रक्रिया आफू बाहिरिएसँगै रोकिएको उहाँको गुनासो छ।
उहाँले तयार पारिएको प्रतिवेदन कार्यान्वयन भएमा स्वास्थ्य बीमाबाट वार्षिक एक खर्ब रुपैयाँसम्म आम्दानी सम्भव हुने र आवश्यक परेकालाई पाँच लाख रुपैयाँसम्मको उपचार सुविधा दिन सकिने दाबी गर्नुभयो। विपन्न नागरिकका लागि तीन लाखदेखि साढे सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने व्यवस्था आफूले नै सुरु गरेको पनि उहाँले उल्लेख गर्नुभयो।
महामन्त्री पौडेलले काठमाडौँ–५ को सांसद रहँदा क्षेत्र विकासका महत्वपूर्ण काम अघि बढाएको दाबी गर्दै रिङ रोड विस्तार, मेलम्ची खानेपानीको विस्तार, सार्वजनिक जग्गा संरक्षण र निजी विधेयक दर्ता गरी जनचासोका विषय संसदमा उठाएको स्मरण गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सुरु हुनुका साथै जलन उपचार निःशुल्क गरिएको बताउनुभयो ।

