नुवाकोटमा प्रहरी–सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न



नुवाकोट, माघ २६ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा सञ्चार माध्यमसँग भेटघाट तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय नुवाकोटको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षतामा रेडियो, टेलिभिजन, अनलाइन मिडिया तथा छापा माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढंगबाट सम्पन्न गराउने विषयमा केन्द्रित रही निर्वाचन सुरक्षा योजना, जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, निर्वाचन प्रहरीको परिचालन तथा व्यवस्थापनबारे जानकारी गराइएको थियो।

त्यस अवसरमा प्रहरी र सञ्चार माध्यमबीचको सहकार्य, सूचना संकलन, सत्य–तथ्य सूचनाको आदानप्रदान तथा जिम्मेवार पत्रकारिताको भूमिकाबारे समेत अन्तरक्रिया र छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी उपरीक्षक रेग्मीले निष्पक्ष, सुरक्षित र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्